​अमेरिकाका तीन संस्थाले विद्यालय भवन बनाउने


सिन्धुपाल्चोक,२४ माघ–अमेरिकामा स्थापित तीन संस्थाले सिन्धुपाल्चोकको भुमथाङ गाविसस्थित बछलादेवी उच्च माध्यमिक विद्यालयका लागि सात कोठे भवन निर्माण गरिदिने भएका छन् ।  हेम सरिता पाठक फाउण्डेशन,गामा र युएस नेपाल वेलफेयर सोसाइटीको संयुक्त सहभागितामा भुकम्पबाट भवन क्षति भई संकटमा परेको सो विद्यालयको भवन बनाउने भएका हुन् । करिव ३६ लाखको लागतमा सात कोठे भवन बनाउने प्रक्रिया आरम्भ भएको छ ।11755795_10155943919785220_1734606834537679690_n

हालै सो भवन निर्माणको औपचारिक शिलान्यास समेत भएको छ ।  सिन्धुपाल्चोकको बिकट गाविसको विद्यालयमा बन्ने भवनको  निर्माण कार्यको जिम्मेवारी आकृति इन्टरनेशनलले  लिएको छ । एमाले नेता अरुण नेपालको प्रमुख आतिथ्यमा सम्पन्न शिलान्यास समारोहमा हेम–सरिता पाठक फाउण्डेशनका संस्थापक हेमप्रसाद  पाठकले भुकम्पले क्षतिग्रस्त विद्यालय भवन बनाउन पाउँंदा आफूहरुलाई खुशी लागेको बताए । भुकम्पका कारण उत्पन्न मानवीय संकटमा साथ दिन अमेरिकामा विभिन्न कार्यक्रम गरी करिव ६० हजार डलर राहत संकलन गरिएको जानकारी दिंदै संस्थापक पाठकले भने–संकलित रकमको केही अंश काठमाडौंको घुमार क्षेत्रका भुकम्प पिडित  परिवारका लागि निजी भवन बनाउन खर्च गरिदैछ भने बाँंकी रकम सिन्धुपाल्चोकको यो विद्यालयका लागि भवन बनाउन खर्च गरिदैछ । ’ भुकम्पका कारण उत्पन्न मानवीय संकटमा साथ दिन अमेरिकामा रहेका नेपालीहरुले देखाएको  सक्रियता र भावनात्मक एकताका निम्ति संस्थापक पाठकले धन्यवाद पनि व्यक्त गरे ।  कार्यक्रममा बोल्दै नेता अरुण नेपालले विदेशमा बसेर नेपालको सामाजिक सेवामा हेम सरिता पाठक फाउण्डेशनले गरेको योगदान प्रसंंशनीय रहेको बताए । उनले भने–विश्वका जुन भुभागमा बसे पनि नेपाल र नेपालीप्रतिको माया एवं सहयोगको भावना उच्च पार्दै अगाडि बढ्नेहरु  प्रति हाम्रो सम्मान छ । ’  कार्यक्रममा फाउण्डेशनका सल्लाहकार सरिता पाठक,वरिष्ठ अधिवक्त रामप्रसाद सिटौला,चर्चित गायक एवं संगितकार यमन श्रेष्ठ,शिक्षाविद खगेन्द्र अधिकारी लगायतको उपस्थिति थियो ।

Comment Here !